हुन्छ, हुँदैन भनेर सधैँ अल्मलिएको संविधान सभाको चुनाव भएको पनि १ हप्ता भईसक्यो । चुनावी परिणामहरु आइरहेको छ । र सबैलाई अचम्म पार्दै माओवादीले विजय पाएको छ । जित्न त जितेको हो तर यो माओवादी सबैको पार्टी कसरी भयो हँ ??
खासमा कुरा के भयो भने आजकाल जो भेटेपनि कुन पार्टीले जित्नुपर्ने कुन उम्मेद्धार कस्तो र के मा भोट हालियो भनेर कुराकानी हुने गर्छ । चाहे चिया पसल होस् या रेष्टुरेन्ट, चुनावको चर्चा अझै सेलाएको छैन । परिणाम देखेर माओवादीका समर्थकहरु त खुशी हुने भइनै हाले तर अरु पार्टीका समर्थकहरु पनि भित्र जतिसुकै रिस उठेपनि बाहिर चाहि निकै खुशी देखिदा रहेछन् ।
यही कुराको सिलसिलामा जो सँग पनि भोट के मा हालियो भन्ने कुरा हुने वित्तिकै माओवादीलाई भन्दा रहेछन् । हुन त के मा भोट हाल्यौ भनेर सोध्नु गलत हो तर अब मान्छेहरु आफै भन्छन् भने सुन्न के को गल्ती होइन र भन्या ? मलाई थाहा भएका कट्टर माओवादीका विरोधीहरु पनि अहिले आएर त मैले माओवादीलाई नै भोट दिए भन्न लजाउँदैनन् बाबा । हैन विजयको पछि सबै लाग्ने यो चाला हो कि आफ्नो पार्टीले हारेको दुःखलाई भुल्ने माध्यम हो ? त्यो त मलाई पनि थाहा भएन । अहिले सम्म झण्डै २ वा ३ जनाले मात्र आफुले भोट हालेको कुरा सही रुपमा मलाई भने । सबैले माओवादीलाई नै भोट हालेको डंका फुक्दै हिँडेपछि अब त भन्नै पर्ला जस्तो छ सबैको पार्टी माओवादी