हुन त म गुरुङ्ग हुँ तर मलाई मेरो भाषा संस्कृतिको बारेमा केही थाहा छैन…। सानो देखि नै काठमाण्डौमा हुर्किएँ यही बढेँ । मेरो आमा बुबालाई पनि आफ्नो सँस्कृतिको बारेमा निकै कम ज्ञान छ । बल्ल अहिले आएर उहाँहरु सचेत हुन थाल्नुभएको छ । त्यसको पनि कारण छ । ३ वर्ष अघि देखि हामी गुरुङ्ग समुहमा सहभागि भयौँ । पुस १५ भनेको ल्होसार नयाँ वर्षको सुरुवात । हरेक वर्ष ल्होसारमा सबै जना भेला हुने एकआपसमा परिचय गर्ने रमाइलो गर्ने गर्छन् । समुहमा सहभागि भएपछि त ल्होसारको खुशीयालीमा सहभागि हुनै पर्यो । त्यही भएर मेरो आमा जानुभयो तर धेरैले न भाषा आउने न पहिरन नै गुरुङ्गको भनेर उल्याएछन् । अनि आमाले गुरुङ्ग लुगा किनेर गत साल चाहि त्यही लगाएर ल्होसारमा जानुभयो । आएर सुनाउनुभयो सबैले गुरुङ्ग भनेर त पत्याए तर भाषा नजानेको भनेर चाहि फेरी जिस्काए । अब भाषा सिक्न कहाँ जाउ भनेर हसाउँनुभयो ।

अब अहिले जातिय मागहरु बढेको छ । सबै आफ्नो सँस्कृतिप्रति निकै नै चासो राख्ने भएका छन् । गत महिना पुख्र्यौली घर जाँदा पनि बाजे बज्यैहरुले मलाई आफ्नो सँस्कृति बुझ्न र जान्न खुब अह्राए । कसरी आफ्नो पहिचान याद नगर्दा दुःख पाइन्छ भनेर उनीहरुले भोगेका कुराहरु पनि सुनाए । सबै सुनिसकेपछि म मा पनि खुब जोश आयो । भेटेका गुरुङ्ग साथीहरुलाई भाषा आउँछ भनेर सोधेँ मलाई भाषा सिक्न सहयोग गर्लान् कि भनेर आशामा तर साथीहरु म जस्तै हरिलट्ठक निक्लिए । त्यो आशाको त्यान्द्रो पनि चुँटियो ।

भाषा जान्ने बुढापाखासँग भेट हुँदा एकछिन सिकेको भाषा मलाई के याद हुनु अलिअलि याद छ सायद भात खायो भन्नलाई कान्चैबा भनिन्छ क्यारे…। सँस्कृति प्रति सचेत त हुन खोजेँ तर अझै पनि जानेको केही होइन…। हरेक वर्ष बर्ग फेरिन्छ । सबैले बुझ्ने भाषामा भन्दा Anima year परिवर्तन हुन्छ । आमाले मलाई कति चोटि सिकाउनुभयो तर पनि मलाई याद छैन । खाली ४, ५ वटा वर्गको नाम याद छ तर कुन पछि के चाहि थाहा छैन ।

म त यस्तो छु तँपाईहरु चाहि कस्तो हुनुहुन्छ नि म जस्तै नाम मात्रको जात हो कि अरु केही ???