Jumla and Kathmandu: How Selfish we can be???
Thursday, May 31st, 2007“……………विद्यालयको सेरोफेरोमा रहि मैले आफुलाई पनि समाज र देशको निम्ती योगदान दिन सक्ने गरी फुलाउन र फक्राउने निकै प्रयास गरे तर जति गरे जति सोचे पनि न त फुल्न सके न त फक्रीन नै…… सानो कक्षामा पढ्दा देखि नै मैले आफ्नो मनमा अनेक सपनाहरु बुन्थे….. पाठ्य पुस्तकमा वर्णन गरिएका गगनचुम्बि महल, अस्पताल, फोन, कम्प्युटर, बस, रेल आदि बारे थाहा पाउँदा किन हो किन एक खालको उत्साह जागृत हुन्थ्यो अनि कक्षामा गुरुहरुलाई सोध्थे हाम्रो विद्यालय र गाउँमा तिनहरु किन छैनन् सर अनि जवाफमा हाँस्दै गुरुहरुले भन्नुहुन्थ्यो तिम्रो चाहना एकदिन पुरा हुनेछन् किन कि ति सबै मानव निर्माण र आविस्कार हुन् । समयको माग र सम्पुर्ण मानबको सम्पुर्ण साझा आवश्यकताहरु ढिलो चाँडो आफ्नो गाउँठाउँ सम्म आइपुग्ने आश्वासनबाट प्रफुलित भए पनि मलाई भने त्यो प्रतिक्षा लामो होला जस्तो लागिरहन्छ…………। कहिले काही सपनामा देशको राजधानी काठमाण्डौ पुग्छु बसमा चढ्छु त कहिले जहाजमा उड्छु, कम्प्युटर र इन्टरनेट चलाउँछु त कहिले चन्द्रमामा डुलिरहेको हुन्छु……. विहान विउँझिदा आफुलाई विछ्याउनमा भेट्दा नरमाइलो लाग्छ । के पुस्तकमा मैले पढेका अनि विकसित देश र सहरबासिले उपभोग गरिरहेका व्योहिररहेका ती सबै कुराहरु मेरो निम्ती भने रहरमा मात्र सिमित हुनेछन ?……………”
यी शब्दहरु हुन् डोल्पा जिल्लाका अंकलाल चलाउनेको । विविसी नेपाली सेवाले गरेको मैले सोचे जस्तो हुने भए नामक स्तभमा सहभागी भएर चलाउनेले यी भावविह्वल शब्दहरु कोरेका थिए । जब मैले यी शब्दहरु पढे अनायसै नेपाल र हामी शहरी परिवेशमा हुर्केकाहरुको बारेमा सोच्न पुगे । भर्खर जुम्ला जिल्लामा सडक पुगेको छ । करिब ३० वर्षदेखी हरेक नेताको प्रिय आश्वासनको शब्द बनेको जुम्ला सडक बल्ल बल्ल बन्यो । गाडिलाई पहिलो पटक देखेर कति जुम्लीहरु डराए भने कतिले गाडि त यस्तो पो हुँदो रहेछ भनेर अचम्म मानेर हेरिरहे (नेपाल टेलिभिजनको कार्यक्रम दिशानिर्देशमा यस्तै दृश्य देखिएको थियो) । सडकको निर्माणसँगै जुम्लामा परिवर्तन देखिन थालिसकेको छ । खाद्यान्नको भाउ घटेको छ भने हवाई भाडा पनि घटेको छ । विकासको एक नयाँ क्रम सुरु भएको छ तर अझै पनि धेरै जिल्लाका धेरै ठाउँका मानिसहरुले चलाउने झैँ सपना बुन्न बाध्य छन् । धेरै टाढा जानु पर्दैन काठमाण्डौँ बाट ३०-४० किलोमिटर टाढा गए पनि स्थिति कस्तो छ भनेर छर्लङ्ग देखिन्छ ।काठमाण्डौ जस्ता शहरी क्षेत्रमा रहेका हामीले उपलब्ध प्राय सबै सुविधाहरु उपभोग गरिरहेका छौँ । न्युर्योकमा जुन फेसन आउँछ काठमाण्डौमा भोली नै देखिन्छ, गुगलले घोषणा गरेको सुविधा तत्कालै प्रयोग गर्ने समाज पनि छ यहाँ । स्पाइडरम्यान लसएन्जलस सँगसँगै काठमाण्डौमा पनि एकै साथ चल्छ । तर पनि हामी किन धेरै गुनासाहरु गर्छौँ सबैलाई सोध्नुस् हरेकसँग केही न केही गुनासो छ । सरकारले यो गरेन त्यो गरेन तर हामी कहिले अघि बढ्दैनौँ आफ्नो समस्या आफै समाधान गर्न । पेट्रोलको लामो लाईन बसेर पनि पेट्रोल नपाएपछि मेरो साथीले मज्जाले सरकारलाई गाली गर्यो । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएर केही नसुनेपछि टेलिकमलाई सराप्ने समुह पनि ठुलै छ । मेलम्ची आउने कि नआउने भन्ने कुरामा काठमाण्डौ अल्झिरहेको धेरै भयो । पानी आएन भनेर कसैलाई नसोधि सडक खन्ने र पछि सडक विग्रयो भनेर सडक विभागलाई गाली गर्नेहरु पनि धेरै छन् । तर यो सबै झमेलामा काठमाण्डौबासीले देशका अरु भाग प्रतिको आफ्नो जिम्मेवारी बोध गर्न बिर्सेंको छ । हामी जबसम्म समस्याले आफुलाई छुदैन तबसम्म वास्ता गर्दैनौँ । मेलम्ची नआए यहाँ खानेपानी हुँदैन भन्ने काठमाण्डौलाई थाहा छ त्यही भएर यो बारेमा मानिसहरु के हुन्छ भनेर चासो राखिरहेका छन् तर हुम्लामा भोकमरि भयो भन्दा यहाँ विचरा भन्नेसम्म कोही निक्लदैनन् । जनआन्दोलन भाग २ को क्रममा पनि काठमाण्डौ सुतेर बस्यो किनकी उसलाई यो सँग मतलब नै थिएन । तर जब दमनले आफैलाई छोयो २४-२५ घण्टाको लगातार कफ्र्युले गाँज्यो तब मात्र काठमाण्डौ सडकमा आयो त्यो पनि आधा मन लिएर ।
हामी किन यस्तो स्वार्थी भएका छौँ ? के हाम्रो अरु देशका भागप्रति कुनै जिम्मेवारी छैन ? एउटा गल्लीको सडक सरकारले बनाएन भनेर दबाब दिन भनेर सिंहदरबार घेर्न जाने हामी किन जुम्लामा सरकारले सडक पुर्याएन, किन हुम्लामा विमानस्थल राम्रो बनाएन, किन ताप्लेजुङ्गमा सरकारले विजुली पुर्याएन भनेर सिंहदरबार घेर्न जाँदैनौँ ? किन डोल्पामा भोकमरी चल्दा त्यसको लागि आवाज उठाउँदैनौँ ? के हामी निकै स्वार्थी भएका हौँ ? सायद हामी निकै स्वार्थी छौँ । जब तराईमा मुत्तिको लागि आन्दोलन चल्छ तब उनीहरुलाई नै गाली गर्छौं । तर हाम्रो यस्तै व्यवहारले गर्दा उनीहरु उठ्न विवश भएका हौँ भन्ने कुरा बुझ्ने प्रयत्न नै गर्दैनौ । सायद यो क्रम चलिरहने छ । सायद यो स्वार्थीपनाले एकदिन हामीलाई नमिठो उपहार दिएर जानेछ ।


