Archive for March, 2007

Tarabaji Lai Lai : Reminiscence of chidhood/adolecences memories

0

Note For Firefox/Flock or other browser user than Internet explorer: This is written in Nepali Unicode Font, So other browser than IE may not support this unicode and might become hard for you to read this article. To read this article, please switch your browser to IE.

बाल्यकालको झझल्को अझै पनि बलियो बनेर यो मुटुमा रहेको छ । स्कुल जाँदाको किस्साहरु, साथीभाई सँग खेल्दाको क्षणहरु अनि सानो सानो कुरामा चित्त नबुझेर रिसाएको क्षणहरु अझै स्पष्टसँग यो आँखामा झलझली आइरहन्छ । कहिले काही जब म एक्लै हुन्छु … मन भारी हुन्छ तब वितेका ती रमाइला क्षणहरु सम्झिन्छु मन हलुको भएर आउँछ । तर विर्सने बानी भएर हो कि के हो कति कुराहरु भने विर्सिन्छु । तर हिजो गुरुकुलको नाटक ताराबाजी लै लै हेरिसकेपछि भने बाल्यकालको क्षण झनै बढेर आयो । कति विर्सेका कुराहरु पनि याद आए । पढाई हुँदा हुँदै सरलाई छलेर भागेको क्षण, क्लासमा प्रश्न सोध्दा नआएर लाज लागेका क्षणहरु अनि त्यो लाजलाई हाँकमा बदलेको क्षण… धेरै कुराहरु चित्र झै झलझली याद आयो …नाटक हेरिन्जेल र हेरिसकेपछि पनि ।

साँच्चिकै ताराबाजी लै लै हेरिसकेपछि जिवनलाई फेरी एकपटक फर्केर हेर्न मन लाग्छ । यस नाटकको विशेषता हो कि यसको प्रत्येक पात्रमा दर्शकले आफुलाई कुनै न कुनै रुपमा महसुस गर्छ । कहिले आफुलाई भोला झैँ सोझो पात्रको रुपमा देख्छ जसको सोझोपनको फाइदा अरुले उठाइरहेका हुन्छन् वा कहिले के । पहिलो पहिलो प्रेमको स्मरण सँगै प्रेमलाई हेर्ने आफ्नो नजर पनि त्यहाँ महसुस गर्छ दर्शककले । बालापनको निर्दोषन किशोरअवस्थाको रमाइलो क्षणहरु अनि तन्नेरी भइसकेपछिको विपरित लिङ्गी तर्फको आकर्षण (यहाँ विवाद आउला कि?) सबै विस्तारै सम्झिदै जान्छ ।

सुरुवातको काठमाण्डौ ब्लुज गीत र काठमाण्डौको वातावरणको दृष्य साँच्चिकै मनमोहक थियो ….. निकै सरल र वास्तविक पनि । पात्रहरु एकदम वास्तविक देखिन्थे र कुनै कृत्रिमता त्यहाँ थिएन । लाग्थ्यो उनीहरु आफ्नो कथा आफै भनिरहेका छन् र सँगसँगै आफ्नो वितेको जिवनलाई पनि सम्झिरहेका छन् । निर्देशकको अब्बलता र सोचाइ निकै नै उत्कृष्ट छ र सानो ठाउँलाई थोरै सामानको प्रयोग गरेर १० वर्षको अन्तराल देखाउन सक्नु उनको र सहभागी सबै कलाकारहरुको विशेषता मान्नुपर्छ । उनीहरुको बालसुलभ व्यवहारको प्रस्तुति साँच्चै नै उत्कृष्ट थियो ।

थाहा छैन यो विशेषता हो कि गुरुकुलको, जे कुरालाई पनि एकदमै मज्जाले दर्शकको भावसँग मिलाउनु वा त्यसलाई टपक्क टिपेर कथा बुन्न सक्नु । ताराबाजी लै लै गुरुकुलको अर्को यस्तै उत्कृष्ट नमुना हो । भनिन्छ जीवनलाई कसरी हेर्ने हेर्ने व्यक्तिको आँखामा भर पर्छ रे खुशी भएर हेर्यो भने जीवन रमाइलो लाग्छ रे तर दुःखी भएर हेरे साह्रै पिडादायक देखिन्छ रे । सायद साँच्चिकै यो कुरा साँचो हुन सक्छ । तारावाजी लै लै हेरेपछि त्यस्तै अनुभव भएर आउँछ ।
धन्यवाद ताराबाजी लै लै लाई मेरो बाल्यकाल र विद्यार्थी अवस्थाको झझल्कोलाई पुन एक पल्ट याद गराइदिएकोमा ।

Stop Burning Tire: कहिले रोकिने होला टायर बल्न ?

4

नेपालीलाई के भएको होला… जो देखे पनि खाली सडक कब्जा गर्न र टायर बाल्न मात्र अघि बढेको देखिन्छ । जन आन्दोलन भाग २ मा पनि खुबै टायर बल्यो । त्यो बेला तत्कालीन शाही सरकारको गोली र लट्ठी खाएकाहरु त चर्चामा आए… कतिको उपचार राज्यले गर्यो भने कतिलाई वेवास्ता पनि । तर त्यो टायरको धुँवा खाएर ढलेका या विरामी भएकाहरुको भने कसैले वास्ता गरेनन् । हुन त टायरको धुँवा र प्रदुषणको कारण विरामी भएर ढलेका कतिलाई त थाहा पनि भएन होला उनीहरु किन विरामी भए भनेर । आखीर कसले यहाँ टायर बाल्नुको खराबीको बारेमा चेतना फैलाएको छ र भन्या ।
त्यसपछि मधेश जल्यो…। अनि हरेक सानो सानो कुरामा टायर जल्दै आएको छ । दुर्घटना भयो भने तुरुन्तै टायर बल्छ सडकको गति रोकिन्छ… अझ हाँसो लाग्दो कुरो त के भने ती टायर बाल्नेहरुलाई नै थाहा हुन्न बाल्नुको खास कारण । हल्ला फैलिन्छ कुन गाडीले बच्चा या मान्छे मार्यो अनि क्षण भरमै सडक रोकिन्छ र टायरको कालो धुँवा हावामा फैलिन्छ । को मर्यो वा साँच्चिकै हो वा हैन कस्को गल्ती थियो केही हेरिन्न ।
अझ यो लोकतन्त्र आएर हो कि के हो सबैलाई अधिकार चाहिएको छ तर आफ्नो जिम्मेबारीको बोध भने कसैलाई भएको देखिन्न । कति माग जायज छन् तर कति त किन मागिएको नै बुझ्न सकिन्न ।
बाल्नेहरुलाई पक्कै पनि चेतना छैन होला बलेको टायरले के गर्न सक्छ भनेर । अब ठुलो कुरा गर्नेहरुले यस्ता सानो सानो कुरामा के ध्यान पुर्याउथे होला र भन्या । तर यस्तै सानो सानो कुराले त हाम्रो सभ्यता र विकास दर्साउँछ र मलाई लाग्छ हामी किन विकासको क्रममा पछाडी परेका हौँ भनेर बुझ्ने सानो मापन पनि हो हाम्रो यस्तै सानो भनेर हेप्ने व्यवहार ।

बलेको टायरको धुँवाले क्यान्सर गराउन सक्छ, श्वासप्रश्वास सम्बन्धी रोगहरु निम्त्याउँछ, वातावरणलाई प्रदुषित गरी भोली जीवनमाथि नै प्रश्न चिन्ह लगाउन सक्छ । यो बारेमा अझ धेरै त यही तल टायर बाल्नेको लागि भनेर लेख नै प्रकाशित भइसकेको छ ।

यहाँ मैले टायरको खाली केही नराम्रो कुरा मात्र दर्साउन खोजेको हैन …हामी भित्रको जिम्मेवारीको खोजी गर्न पनि खोजेको हुँ । अधिकारको नाममा वा अन्य कुनै नाममा टायर बाल्दा हामीले कसरी अर्काको स्वस्थ पुर्वक बाँच्न पाउनुपर्ने अधिकारको हनन गरिरहेका छौँ । के आफ्नो अधिकार माग्न अरुको अधिकारको इज्जत गर्न नसक्नेले अधिकार पाएपछि सही उपयोग गर्ला ? लोकतन्त्र र मानव अधिकार भनेको त अरुको अधिकारको सम्मान गर्नु र आफ्नो अधिकारको सही उपयोग गर्नु हो । अधिकार माग्ने हक सबैलाई छ तर अरुको अधिकारमाथि खेलबाड गर्ने अधिकार त मैले संविधानको कुनै पनि धारामा देखिन त । राजालाई जनआन्दोलनमा गरिएको दमनको विरोधमा अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्ने माग गर्नेहरुले टायर बाल्नेहरुको विरोधमा कहिले बोल्ने हुन् खै ?

अस्थायी शिक्षकलाई स्थायी गर्न भएको अस्थायी शिक्षकको आन्दोलन अनि त्यसपछि शिक्षकको माग पुरा गरिएको विरोधमा विद्यार्थी आन्दोलन, खानेपानी नीजिकरण गर्न बनेको विधेयक पास भएको विरोधमा अर्को आन्दोलन, कमैयाको आन्दोलन, माओवादी पीडितको आन्दोलन, मधेशीको आन्दोलन अनि जनजातीको आन्दोलन, कहि न कही कुनै न कुनै दिन टायर बलेरै छाड्यो । यो आन्दोलनको बाढीसँगै बढेको टायरको प्रदुषण… कहिले सकिने होला ?

यो दोष बाल्नेहरुको मात्र होइन सरकारको पनि हो । टायर बाले पछि मात्र सरकारले कुरो सुन्छ नत्र त के हो के हो । तर बाल्नेहरु यसको नकारात्मक पक्ष प्रति सजग भइदिए र विरोधको अर्को कुनै नयाँ तरिका जुनले अरुलाई दुःख नहुने तर सरकारको पनि कान सम्म सुन्ने उपाय अपनाए त प्रदुषण केही भए पनि कम हुन्थ्यो होला नि… अनि विरोध र बन्दले गर्दा हुने हाम्रो पीडा पनि ।
नत्र फेरी कुनै दिन टायर बालेको विरोधमा टायर आफै बलेर विरोध जनाउला नि ।

Go to Top